प्रतिनिधिसभाको बैठक बुधवार बस्दै

काठमाडौं। प्रतिनिधिसभाको बैठक बुधवार दिउँसो १ बजे बस्ने भएको छ। मंगलबार संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भोलिको बैठकमा केही वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस गर्ने तयारी छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभाका सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची छ। सर्वोच्च अदालतको फैसलापछि पुनःस्थापित प्रतिनिधिसभाका बैठक बसिरहे पनि बैठकमा खासै महत्वपूर्ण विषयले प्रवेश पाएका छैनन्।

अन्य सम्बन्धित समाचार:  सिन्धुपाल्चोकमा आजदेखि निषेधाज्ञा