ओलीलाई सुरेन्द्र पाण्डेको स्पष्टीकरण जवाफ

काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार तपाईं कि अरु? भन्दै प्रतिप्रश्न गरेका छन्। प्रधानमन्त्री ओलीले सोधेको स्पष्टीकरणपत्रको जवाफ लेख्दै पाण्डेले प्रतिप्रश्न गरेका हुन्। ‘प्रश्नहरू हेर्दा तपाईंमाथि नै धेरै प्रश्न सोझिएका छन्। तपाईंले मलाई ‘प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप मलाई हास्यास्पद लाग्यो’, पाण्डेले भनेका छन्।

उनले २०७४ असोज १५ गते ओली एक्लैले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गरेको उल्लेख गरेका छन्। ‘२०७५ जेष्ठ ३ गते भएको पार्टी एकताको समयमा आलोपालो अध्यक्षता र प्रधानमन्त्री आधाआधी बाँड्ने प्रचण्डसँगको सहमति पनि गोप्य रूपमा तपाईंले नै गर्नु भएको थियो। अब तपाईं भन्नुस् प्रचण्डको मतियार तपाई्ं हो कि अरु कोही?’, पाण्डेले भनेका छन्, ‘अझ तपाईंले मलाई ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहिन र शत्रुतापूर्ण आरोप तयार गर्ने’ भन्ने झुठो आरोप समेत लगाउन तम्सिनुभयो।’

अन्य सम्बन्धित समाचार:  ३९ जनाको पद बचाउन फेरि अध्यादेश