सातै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरियो

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले आज सातवटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका छन्। भर्चुअल माध्यमबाट उनले प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। मन्त्रिपरिषद्को गएको माघ २६ गतेको निर्णयानुसार आयोग अन्तर्गत सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैंले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकता अनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था रहेको प्रवक्ता श्रेष्ठले बताएका छन्। उक्त व्यवस्था बमोजिम आयोगले गरेको सिफारिसका आधारमा हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज भइ आयोगको प्रादेशिक कार्यालय स्थापना गरिएको छ। उपसचिवको नेतृत्वमा नौ जना कर्मचारी रहनेगरी प्रदेश निर्वाचन कार्यालयको स्थापना गरिएको श्रेष्ठले जानकारी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  सिन्धुपाल्चोकमा आजदेखि निषेधाज्ञा