निःशुल्क स्वास्थ्य शिविरमा २७५ लाभान्वित

सिन्धुली। जिल्ला आयुर्वेद स्वास्थ केन्द्र सिन्धुलीले गोलन्जोर गाउँपालिकामा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २७५ जना लाभान्वित भएका छन्। केन्द्रले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार आयोजना गरिएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ परीक्षण गर्नुका साथै औषधि वितरण र पञ्चकर्म विधिबाट उपचारसमेत गरिएको थियो।

यता जिल्लको तीनपाटन गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकका लागि आयुर्वेदिक औषधि वितरण गरिएको छ। तीनपाटन गाउँपालिका आयुर्वेदिक शाखाले नागरिकको घरदैलोमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिएको हो। ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, खानपानको स्तर, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता के–कति छ भनी स्वास्थ्य परीक्षण गराउने गरिएको छ। साथै अस्वस्थ ज्येष्ठ नागरिकलाई औषधि तथा भिटामिन वितरण गरिएको आयुर्वेदिक शाखाका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  अक्सिजनमा लगाइएको कोटा प्रणाली खारेज

उक्त कार्यक्रमअन्तर्गत वडा नं १० का ६० वर्षभन्दा माथिका २२० ज्येष्ठ नागरिकले सेवा लिएका छन्। तीनपाटन–९ का २५०, वडा नं ५ का २३५, वडा नं ६ का ३४० ज्येष्ठ नागरिकले सुविधा लिएको उनको भनाइ छ।