नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं। साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ अंकमा पुगेको छ। आज कारोबार रकममा पनि सुधार भएको छ। बुधबार सवा ६ अर्बको सेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब माथि कारोबार रकम पुगेको छ।

दिनभर भएका ७३ हजार ६ सय ६७ कारोबारबाट २ सय १८ कम्पनीका १ करोड ४२ लाख ६८ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन्। जसबाट कारोबार रकम ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १ सय २५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनकाे मूल्य बढ्यो, तोलाको कति?

नेप्सेमा कारोबार हुने चार समूहहरुको सब इन्डेक्स घटेको छ। बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले बिहीबार गुमाएका छन्। यो समूहको सब इन्डेक्स ७७ दशमलव २२ अंकले घटेको छ। कमाउनेहरुमा भने व्यापार समूहका लगानीकर्ताहरु देखिएका छन्। उक्त समूहको सबइन्डेक्स २६८ अंक भन्दा धेरैले बढेको छ।