वडा सदस्यले घुस लिएको आरोपः वडा कार्यालयमा तालाबन्दी

रुपन्देही। रुपन्देहीको सैनामैना नगरपालिकामा जनप्रतिनिधिले घुस लिएको आरोपमा नेपाली कांग्रेसले वडा कार्यालयमा ताला लगाएको छ। नागरिकता बनाइदिन्छु भनेर वडा नं. २ का वडा सदस्य थानेश्वर गिरीले १० हजार रुपैँया घुस लिएको आरोपमा कांग्रेसले तालाबन्दी गरेको जनाइएको छ।

स्थानीय भरतप्रसाद थारूका छोराको नागरिकता बनाइदिन उक्त रकम वडा सदस्यले घुस लिएको कांग्रेसको आरोप छ। नेपाली कांग्रेस सैनामैना वडा नं. २ का सभापति तुल्सीप्रसाद घिमिरिले घुस लिने वडा सदस्यलाई कारबाही नभएसम्म ताला नखोल्ने जानकारी दिए। गिरीविरुद्ध थारू परिवारले यही चैत १५ गते वडा कार्यालयमा निवदेन दर्ता गराएको थियो

वडा कार्यालयले उक्त निवेदन बेवास्ता गरेको कांग्रेसको आरोप छ। वडा सदस्य गिरीले शुरूमा २० हजार रुपैँया मागेको र पछि १० हजारमा झरेको भरतप्रसादले बताए। आरोपित वडा सदस्य गिरीले आफूले घुस नमागेको र नलिएको जिकिर गर्दै आरोप प्रयोजित भएको बताए। वडाध्यक्ष कामदेव भुसालले चाँडै छानविन गरेर कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्रदेश प्रमुखलाई जनमोर्चा सांसद थापाले पठाए तटस्थ रहेको पत्र