प्रहरी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ

कैलाली। कैलालीमा सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–८ स्थित व्यापारीबाट नगद मागेको अवस्थामा नगद पाँच हजारसहित धनगढी–५ का २३ वर्षीय वीरेन्द्र सिंह र वडा नम्बर २ का २५ वर्षीय पारस मल्ल पक्राउ परेका हुन्।

निजहरूको साथबाट माग गरेको नगदसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको कैलालीका सहायक प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताए। विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।