मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ

काठमाडौं। ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले कोटेश्वरको भाटभटेनीबाट पुस १४ मा हराएको मोटरसाइकल नम्बर परिवर्तन गरी साँखुमा चलाइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उक्त मोटरसाइकल ललितपुरका सुजित महर्जनको भएको र उक्त मोटरसाइकलको वास्तविक नम्बर बा९१प १२२१ भएको महाशाखाले जनाएको छ। मोबाइलका धनी महर्जनले दिएको निवेदनका आधारमा महाशाखाले उक्त मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  प्रेस पासको दुरुपयोग भए कारवाही

पक्राउ गरिएको व्यक्ति र मोटरसाइकलबारे थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महाशाखा प्रमुख भट्टराईले बताए। पछिल्लो समय उपत्यकाको विभिन्न स्थानबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना सङ्कलन एवं निगरानी राखी विशेष कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ।