वडाको सक्रियतामा वाग्मती सफाइ

काठमाडौं। हप्ताको दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ। वाग्मती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका–११ स्थित रुद्रमती दोभानमा सफाइ गरिएको छ। वडा कार्यालयसमेतको सक्रियतामा विगत तीन हप्तादेखि वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ भइरहेको छ। सफाइमा वडाका जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासीकोसमेत सहभागिता थियो।

यसअघि नै वडाध्यक्ष हीरालाल तण्डुकार र वाग्मती सफाइ महाअभियानबीच वडा नं ११ को नदी किनारको सफाइ नेतृत्व वडा कार्यालयले नै गर्ने सहमति भएको थियो। सहमतिअनुसार वडा कार्यालयको नेतृत्वमा सफाइ शुरु भएको महाअभियानले जनाएको छ। विष्णुमती माथिल्लो भेग सफाइको ३१ औँ हप्ता खानेपानी मुहान क्षेत्रमा सफाइ गरिएको संयोजक रामकुमार श्रेष्ठले बताए। विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्पको त्रास, कोरोनाको डरजस्ता प्रतिकूल अवस्थामा पनि निरन्तर जारी रहेको छ।

अन्य सम्बन्धित समाचार:  कांग्रेस पदाधिकारी बैठक आज बस्दै

वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीहरु रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ भइरहेको छ। उपत्यकामा चक्रपथको उत्तर र पश्चिमी खण्ड सफाइलेसमेत निरन्तरता पाएको छ। वाग्मतीको गुह्येश्वरीमाथिको खण्ड, तिलगङ्गा, सुन्दरीघाट जस्ता क्षेत्रमा पनि सफाइ अभियान जारी छ। महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ।