कृषकलाई चैते धान रोप्न चटारो

दमौली। चैत महीना शुरु भएसँगै जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ। तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन्। व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिए। मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उनले बताए। तरकारीखेती, भँैसीपालन, मौरीपालन गर्नुभएको उनले भने, “अहिलेसम्म चामल किन्नुपरेको छैन, धान नरोप्ने हो भने त समस्या पर्छ।” उनका अनुसार पोल्याङका धान फाँटमा चैते धान रोपाइँ सम्पन्न भएको छ।

म्याग्दे गाउँपालिकाका कृषक पनि यतिबेला चैते धान रोप्न व्यस्त छन्। वडा नं –३ धयरेका रामबहादुर थापाले चैते शुरु भएसँगै यहाँका कृषक धान रोप्न व्यस्त रहेको बताए। “धयरेका फाँट यतिबेला कृषकले भरिएका छन्, कृषक धान रोप्न व्यस्त छन्,” उनले भने। वर्षभरीलाई खान पुग्ने अन्नबालीको जोहो गर्न पनि धान रोप्नुपर्ने बाध्यता रहेको म्याग्दे–४ का चन्द्रबहादुर रानाले बताए।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा टेम्पो दुर्घटनाः जनाको मृत्यु, ४ जना घाइते

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । किसानले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन्। म्याग्दे–१ गुणादीका लक्ष्मी रानाले गोरुले जोतेर खेत रोप्दा महङ्गो पर्ने गरेको बताएका छन्।