रामचन्द्र–महन्थबीच भेटवार्ताः सरकारको विकल्प दिने विषयमा छलफल 

काठमाडौं।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। पौडेल ठाकुरलाई भेट्न आज उनकै निवास कौशलटार पुगेका हुन्। उक्त भेटमा वरिष्ठ नेता पौडेलले अनैतिक बनिसकेको केपी शर्मा ओलीको सरकार विस्थापनका लागि जसपा निर्णयक भूमिकामा रहेको भन्दै ठाकुरलाई महत्वपूर्ण भूमिकाका लागि अग्रह गरेका थिए।

जवाफमा ठाकुरले आफूहरुले मधेसका माग सम्बोधन गराउने विषयमा मात्र वार्ता गरिरहेको भन्दै प्रधानमन्त्री ओली वा अरु कसैको सरकारलाई समर्थन दिने विषयमा जसपा निर्णयमा पुगिनसकेको बताए। पौडेलले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओली सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेपछि पनि त्यही पदमा बस्नु अनैतिक हुने भन्दै त्यस्तो अनैतिक सरकारको विकल्प खोज्नु लोकतन्त्रवादीको कर्तव्य भएको बताएका थिए।

उनले अनैतिक सरकारबाट लोकतन्त्र र व्यवस्था दुवैमाथि खतरा बढेको भन्दै जनताका प्रतिनिधिले बनाएको संविधान जोगाउन पनि लोकतन्त्र र संविधानका पक्षधरहरु एकजुट हुनपर्ने बताएका थिए। ठाकुरले आफूलाई लोकतन्त्रको चिन्ता भएको भन्दै सँगसँगै मधेसीका अधिकार सुनिश्चित गर्ने कुरामा अन्य दलको भूमिका खोजी रहेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह