जालझेल गरेर जितेको मानिसले फुर्ती नलगाए हुन्छः माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता भेला आधिकारिक भएको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी नेकपा एमालेको अगुवा कार्यकर्ता भेला गरिरहेका छौं। यो पार्टीको आधिकारिक भेला हो। बागमती प्रदेशका इन्चार्जदेखि लिएर पार्टीका सबै महत्त्वपूर्ण नेताहरु यहीँ सहभागी हुनुभएको छ। पार्टीको निर्माण गर्ने नेताहरू नै हामी हौं। कोअर्डिनेसन कमिटी गठन गर्दादेखिका नेताहरू सबै हामी नै हौं। अहिले यो नै मूलधार हो।’

मदन भण्डारीको विचार बोकेर हिँड्नेहरु सबै एकै ठाउँमा रहेको उनले बताए। पार्टी अध्यक्ष केपी ओलीलाई इंगित गर्दै नेपालले भने, ‘अरु कुनै आधिकारिक होइनन्। कानुनले दिएन भने बेग्लै उपाय खोजौंला। कसैले पार्टी कब्जा नगरे हुन्छ। कसैको डर धम्की त्रासबाट हामी डराउँदैनौं। हामी शत्तिसाल झैं उभिएका छौं। हामी केपी ओलीले फालेर फालिने होइनौं। उनले हामीलाई बनाएका होइनन्। नवौं महाधिवेशनमा जालझेल गरेर जितेका मानिसले फुर्ती नलगाए हुन्छ।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह