सुदूरपश्चिममा भारतबाट फर्किएका तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

कैलाली। सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमण पुष्टि हुनेहरुमा कोभिड १९ को नयाँ भेरियन्ट समेते पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको त्रिनगर–गौरिफन्टा नाका हुँदै आएका तीनजनामा नयाँ भेरियन्टको कोरोना पाइएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।

भारतबाट आउनेहरूमा गरिएको परीक्षणमा केही व्यक्तिमा नयाँ भेरियन्ट देखिएको हो। भारतबाट आएका २० जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। ती मध्ये तीनजनामा नयाँ भेरियन्ट देखिएको कैलालीका धनगढी स्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

‘डोटीको जोरायल गाउँपालिकाका एक जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र डडेलधुराको परशुराम नगरपालिकाका एक जनामा गरी प्रदेशमा तीनजनामा नयाँ भेरियन्टको कोरोना पाइएको छ।’ उनले भने, ‘पहिलेको भन्दा फरक भेरियन्ट त हो तर कुन भेरियन्ट भन्ने विषयभने पुष्ट हुन बांकी छ।’ उनीहरू तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४६० जनामा कोरोना संक्रमण पुष्टि