एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादीले गर्‍यो कारबाही

काठमाडौं।  नेकपा (एमाले)मा प्रवेश गरेका दुई सांसदलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको छ। दुवै सांसदको पद गुम्ने भएको छ। माओवादीले लुम्बिनी प्रदेश सभाका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको हो। न्यौपाने रुपन्देहीका र पन्थी गुल्मीका सांसद हुन्।

उनीहरु प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको पक्षमा उभिएका थिए। दुवै जनालाई प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। एमाले केन्द्रीय सदस्य बनेपछि माओवादी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले २४ घन्टे स्पष्टीकरण सोधेका थिए। उनीहरुले स्पष्टीकरणको जवाफ नबुझाएपछि कारबाही गरिएको माओवादी प्रदेश सभा सदस्य दामा शर्माले बताइन्।

प्रदेश संसदीय दलले कारबाही गरेको जानकारी केन्द्रीय कमिटीलाई पठाएको थियो। केन्द्रीय कमिटीले पनि कारबाहीलाई अनुमोदन गरेको हो। संसदीय दल र केन्द्रीय कमिटीले कारबाही गरेको पत्र लुम्बिनी प्रदेश सभा सचिवालयमा दर्ता गरिएको सांसद शर्माले बताइन्। अब कानूनअनुसार दुवै सांसद निलम्बन हुनेछन्।