एमालेमा प्रवेश गरेका मन्त्रीको सांसद पद खोसियो

काठमाडौं। माओवादी केन्द्रबाट निर्वाचित प्रदेश १ का प्रदेश सभा सदस्य टंक आङ्बुहाङलाई सांसद पदबाट मुक्त गर्ने निर्णय भएको छ। उनले माओवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गरेका थिए। साथै एमालेमा प्रवेश गरे संगै उनी मन्त्री समेत बनेका थिए। यसअघि माओवादी केन्द्रले पार्टी त्याग गरेको भन्ने विषयमा स्पष्टीकरण मागेको थियो। उनले समयभित्र स्पष्टीकरण नदिएपछि पार्टीले कारबाही गरेको जनाइएको छ।

माओवादी केन्द्र प्रदेश नं १ प्रदेश सभा संसदीय दलको सिफारिसमा आङ्वुहाङलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन्। गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।

अन्य सम्बन्धित समाचार:  सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँः प्रचण्ड

सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। उनले आङ्बुहाङलाई कारवाही गरेको पत्र प्रदेश संसद सचिवालयमा आज दर्ता भएको जानकारी दिए। उनलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।