हेटौंडामा दुई मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१० का निवासी उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। गएराति हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेशले गुमायो इमान्दार पत्रकार र मानवाधिकार कर्मी