काठमाडौं। दार्चुलाको महाकाली नदीमा भारतले बनाउँदै गरेको पर्खालको नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ। नेपालको सीमा क्षेत्रमा नेपालसंग समन्वय नै नगरी भारतले सुरक्षा वाल, चेक वाल (पर्खाल) को निर्माण गरेको भन्दै प्रश्न उठेको थियो। त्यस सम्बन्धमा गत पुस २२ गते नेपालले एकतर्फी रुपमा स्थलगत निरीक्षण गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधिहरु सम्मिलित टोलीले स्थलगत निरीक्षण गरेको जानकारी दिए। सो टोलीले गरेको सिफारिसमा आधारमा संयुक्त स्थलगत निरीक्षण गर्न लागिएको उनले बताए।
उनले संयुक्त टोलीले स्थलगत अध्ययन गर्दा पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन? अन्तर्राष्ट्रिय सीमाको सही ढङ्गले सम्बोधन गरिएको छ कि छैन? भन्ने बारेमा तथ्य प्रमाण हेरिने बताए।