नेविसंघको आयल निगम अगाडि धर्ना

काठमाडौं। नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेपछि नेविसंघले आज धर्ना दिएको हो।

सरकारले कोरोना भाइरसको महामारीको समयमा जनतालाई राहत दिनुपर्नेमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई आहत दिएको विरोधमा धर्ना दिइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने समेत उनले जानकारी दिए।

आज नै अनेरास्ववियूले निगमको कार्यालय अगाडि प्रदर्शन गर्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो।

अन्य सम्बन्धित समाचार:  कर्णाली प्रदेशः नवनियुक्त मन्त्रीले लिए शपथ