सी डिभिजन लिगमा ओसिस र वीरगञ्ज विजयी

काठमाडौं। सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत आज भएका खेलमा ओसिस क्लब र वीरगञ्ज युथ एकेडेमीले जित हात पारेका छन्। सातदोबाटोस्थित एन्फा कमप्लेक्समा आज भएको दोस्रो खेलमा वीरगञ्जले खालिबारी युथ क्लबमाथि २–० को जित निकाल्यो। खेलको २२ औं मिनेटमा आदित्य शाक्यले फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाएका थिए। थप गरिएको सयममा लक्षुमन चौधरीले टिमको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि वीरगञ्ज २–० ले विजयी भएको हो। जितसँगै वीरगञ्जले ६ खेलबाट १३ अंक जोड्दा पराजित खालिबारीको समान खेलबाट १० अंक छ। आजै भएको पहिलो खेलमा ओसिस क्लबले प्लानिङ ब्बाइज युनाइटेडलाई २–१ ले पराजित गरेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा

ओसिसको जितमा कृष्ण राना र विशाल पाण्डेले १–१ गोल गर्दा प्लानिङ ब्बाइजका लागि क्रिस सापकोटाले १ गोल फर्काए। जितसँगै ओसिसले ६ खेलबाट ५ अंक जोड्दा पराजित प्लानिङ ब्बाइजको समान खेलबाट ५ अंक छ।