बझाङमा पानी ट्यांकी फुटेर दुईजनाको मृत्यु

माेटरसाइकल

बझाङ। बझाङको तलकोट गाउँपालिका–१ चौडामा पानी ट्यांकी फुटेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवर रहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको ट्यांकीमा सोमबार पानी जम्मा गर्ने क्रममा फुटेको प्रहरीले जनाएको छ। पानी ट्यांकी फुटर घाइते भएकी सुन्दरीदेवीको अमिशा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा पानी ल्याइएको थियो । पानी ट्यांकी चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो। मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्यांकी फुटेर उक्त घटना भएको स्थानीय गोपाल कुँवरले बताए।

अमिशा अस्पतालको लापरवाहीका कारण सुन्दरी कुँवरको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापरवाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले आरोप लगाए। अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर जाँच गर्दा मेन्टेन भएको देखिएको बताए। पछि मात्रै बिरामीको मृत्यु भएको उनले बताए। बिरामीका आफन्तले भने डाक्टरलाई कारवाहीको माग गरेका छन्।