ओली भन्दा बढी मत ल्याएर विजयी भएको हुँ, फुर्ती नलगाउँदा हुन्छः भीम रावल

कैलाली। नेकपा एमाले माधवकुमार नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले पार्टी फुटाउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको बताए। आज धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेश स्तरीय महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी विधानलाई उल्लङ्घन गर्दै ओलीले आफनो गुटको भेला बोलाएर आफू अनुकुल निर्णय गरी पार्टीलाई दुई भागमा विभक्त बनाएको आरोप लगाएका हुन्।

रावलले ओलीले कारवाही गर्छ भनेर कोही पनि नडराउन अपिल गर्दै ओलीको निरंकुशताविरुद्ध प्रवृत्तिलाई छिटै किनारा लगाएरै छाड्ने जानकारी दिए। ‘पार्टीको नवौँ महाधिवेशनमा केपी ओलीभन्दा बढी मत ल्याएर विजयी भएको व्यक्ति हुँ म,’ रावलले भने, ‘प्रतिनिधिसभाको चुनावमा पनि म अछामबाट विजयी र ओली झापाबाट विजयी भएका हुन्। पार्टीको विधि विधान मिचेर कसैले पनि फुर्ती नलगाउँदा हुन्छ,’ उनले भने, ‘पालो आइसकेको छ जनता र कार्यकर्ताले ठेगाना लगाउने दिन।’

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे