ओली सरकारमा रहेका ४ सांसदको पद खोसियो

काठमाडौं। केपी ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ। माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाएका थिए।

सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन्। प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो। उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए।

सभामुख सापकोटाले अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम दल त्याग गरेको सूचना दिएकोले ती ४ सांसदको पद रिक्त भएको राजनीतिक दलसम्बन्धी दफा ३५ को उपदफा १ बमोजिम र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम पद रिक्त भएको सभालाई जानकारी गराएका हुन्।

अन्य सम्बन्धित समाचार:  एमाले सांसदले गरे फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो