यी क्षेत्र बन्द गर्ने तयारीमा सरकार

काठमाडौं। कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शैक्षिक तथा अन्य क्षेत्र बन्द गर्ने तयारी गरेको छ। मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक, शैक्षिक संस्था भर्चुअल माध्यम वा बन्द गर्ने सम्बन्धि सिफारिस गरेको हो।

मन्त्रालयका अनुसार आज बस्ने सीसीएमसीको बैठकले नै त्यसबारे निर्णय गर्ने छ। मन्त्रालयले शैक्षिक संस्था लगायत, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल लगायतका क्षेत्रमा समेत तत्कालका लागि बन्द गर्न सिफारिस गरेको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सरकारले त्यसको रोकथाम तथा नियन्त्रणका लागि तयारी थालेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै लकडाउनसम्मको स्थितिमा नपुर्याउनका लागि सरकारले आग्रह गरिरहेकोे छ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह

बिहीवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा बोल्दै कोरोना खोपमा मात्रै पूर्णरुपमा भर गर्न नहुने बताउँदै आँफै सचेत हुन आग्रह गरेका छन्। त्यस्तै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले तत्काल लकडाउन नहुने तर आवश्यक क्षेत्रलाई बन्द गर्न लागेको संकेत गरेका छन्।