पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। पुनर्नियुक्ति पाएका ४ मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी जनाइएको छ।

नेकपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेको थियो। बिहीबार उनीहरु पार्टीबाट निश्कासित भएको सूचना संसदमा सभामुखले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए र सँगै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए।

पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी हुन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह