स्मरण शक्ति बढाइदिने भन्दै विद्यार्थीसँग रकम असुलेर छुट्टै कक्षा सञ्चालन

ओखलढुंगा। ओखलढुंगामा एक युवाले स्मरण शक्ति बढाउने भन्दै विद्यार्थीसँग रकम असुलेर छुट्टै कक्षा सञ्चालन गरेको पाइएको छ। विद्यार्थीसँग रकम असुलेर छुट्टै कक्षा सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले कक्षामाथि रोक लगाएको छ। सुनसरीको धरान १५ का एलसस गिरीले गैरकानुनी रुपमा विद्यार्थीसँग आफूखुशी पैसा असुलेर स्मरण शक्ति बढाइदिने भन्दै छुट्टै कक्षा सञ्चालन गरेको पाइएपछि स्थानिय प्रशासनले रोक लगाएको जनाइएको छ।

आफूलाई मेमोरी किङ भनेर चिनाउने गिरीले सदरमुकामका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रलोभनमा पारेर रकम उठाइ कक्षा सञ्चालन गर्ने गरेको खुल्न आएको छ। गिरीले विद्यार्थीहरुलाई स्मरण शक्ति बढाउने भन्दै गैरकानुनी रुपमा प्रति विद्यार्थी रु दुई सयका दरले पैसा उठाएका थिए। विद्यार्थीका अनुसार गिरीले विद्यार्थीहरुलाई काल्पनिक कुरा सिकाउँदै पैसा लिएर विद्यालय बाहिर छुट्टै भेला गराएर कक्षा सञ्चालन गर्ने गर्थे।

अन्य सम्बन्धित समाचार:  कैदीबन्दीसँग भेट्न रोक

परीक्षणका रुपमा केही दिनअघि विद्यालय पुगेर छुट्टै कक्षा लिएका गिरीले आफूले जस्तोसुकै शब्द तथा वाक्य समेत एकैपटकमा बनाइदिने दावी गर्दै प्रलोभनमा पारेका थिए। विद्यालयको कक्षा कोठा नै रित्तो पारेर विद्यार्थीहरु स्मरण शक्ति बढाउन छुट्टै कक्षामा बस्न थालेपछि विद्यालय सुनसान बनेको छ। सगरमाथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले विद्यार्थीहरु आफूखुशी गएको दाबी गरेका छन्।

पैसा उठाएर पढाउँदै हिँडेका गिरीले आफुमा गट गिफ्टेट क्षमता रहेको र सोही क्षमता आफ्नो पेशा भएको प्रशासनसँग दाबी गरेका छन्। साथै जिल्ला सदरमुकामको सगरमाथा जनता माध्यमिक विद्यालय र ओखलढुंगा क्याम्पसका बिद्यार्थी हरुबाट पैसा उठाएर कक्षा सञ्चालन गरेको पाइएपछि स्थानिय प्रशासनले उक्त पैसा विद्यालयको प्रधानाध्यापकमार्फत फिर्ता गराएको छ। गिरीलाई कानुनी प्रकृया पुरा गरेर कक्षा लिन पाउने र लिएको पैसा फिर्ता दिने सहमतिमा छाडेको छ।