ओलीको सरकार अब धेरै दिन टिक्दैनः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै नयाँ सरकार गठन हुने बताए। केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नरहने पनि प्रचण्डले दाबी गरे। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै आफूहरु जनतालाई दुस्ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा रहेको जानकारी दिए।

उनले मुलुकमा अझै सेटिङ रहेको र अराजकताको कालो बादल मच्चिइरहेको तर्क गरे। उनले आफूहरुले नयाँ सरकार बनाएर यसलाई सच्याउन लागेको र त्यो सम्भव नभएर नयाँ विद्रोहमा मुलुक जाने संकेत गरे। ‘एउटा नयाँ खालको विद्रोहमा संगठित हुनुपर्ने जानुपर्ने अवस्था निकट भविष्यमै आउन सक्छ। हामी नयाँ सरकार बनाएर अगाडि बढ्न सकेनौं भने विद्रोहको विकल्प छैन,’ उनले भने।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठकमा २ कुर्सी खाली राखिने

ओलीको प्रतिगामी कदमको प्रतिवाद सिंदरबारभित्रैबाट, देशभरीबाट हुने उनले बताए। उनले वर्तमान सरकार धेरै दिन नचल्ने पनि बताए।प्रचण्डले मिलेर बसेको शक्तिलाई छुटाएर जबरजस्ती डिभोर्स गरिएकोमा आफूहरुले पुनर्मिलन चाहेको बताए। एमालेको माधव नेपाल समूहको नाम नलिई उनले उक्त कुरा बताएका हुन्।