लभ परेर जन्मेको छोरोलाई सर्वोच्चले आमाकै गर्भमा पठाइदियोः माधव नेपाल

पर्सा। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गर्ने गरी दिएको निर्णयलाई प्रेम विवाहसँग तुलना गरेका छन्। शनिबार पर्सा जिल्लास्तरीय समानान्तर कमिटी बनाएपछि आइतबार वीरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

नेकपा खारेज गरेर साविकका एमाले र माओवादी ब्यूँताउने सर्वोच्च अदालतको निर्णयलाई विवाह र बच्चासँग तुलना गर्दै नेता नेपालले गुनासो गरेका हुन्। ‘केटाकेटीले प्रेम गरेर आपसी सहमतिमा बिहे गर्छन्। एक वर्षपछि छोरो जन्मिन्छु, उनले भने, तर जन्मिसकेको त्यो छोरोलाई सर्वोच्च अदालतले फेरि आमाको गर्भमै पठाउने गरी फैसला दिएको छ। यो राजनीतिकसँगै अस्वभाविक निर्णय पनि हो।

नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले खारेजीमा परेको नेकपा र साविकको एमालेलाई पेवा सम्झिएको बताए। उनले कुर्सीको लोभमा पार्टीलाई अनिर्णयको बन्दी बनाएर ओलीले पार्टीमा एकलौटीतन्त्र, मनपरितन्त्र र अधिनायकवाद लादेको पनि गुनासो गरे।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटाको उम्मेदवारी दर्ता

‘ओलीको त्यही कदमको फल पार्टी अहिले संकटमा पुगेको छ, कार्यकर्तामा निराशा छाएको छ। त्यही निराशालाई ख्याल गरेर नेकपा एमालेले पार्टी सुदृढिकरण अभियान चलाएको छ, म आफैँ यो अभियानमा छुु, उनले भने, हरेक वडा, पालिका, जिल्ला, प्रदेशमा समानान्तर कमिटि गठन गरेर अहिलेको अवस्थाबारे देशव्यापी जानकारी दिँदै अघि बढेका छौं।’