इजरायलमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या गत जुनपछि सबैभन्दा न्यून

काठमाडौं। इजरायलमा सक्रिय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या माहमारी सुरु भएपछि अहिलेसम्मकै सबैभन्दा न्यून अवस्थामा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ। नयाँ तथ्याङ्कले फेब्रुअरीदेखि कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्यामा तीव्र गिरावटलाई देखाएको छ। पछिल्लो तथ्याङ्क अनुसार इजरायलमा कोभिडका सक्रिय सङ्क्रमित विरामीको सङ्ख्यामा ११४ ले कमी आई कूल सङ्क्रमितको सङ्ख्या तीन हजार ८९० कायम भएको छ। गत वर्षको जुन १६ पछि पहिलोपटक सङ्क्रमितको सङ्ख्या न्यून देखिएको हो।

इजराइलमा यसै बर्षको फेब्रुअरी ५ सम्म सङ्क्रमण दर उच्च रहेको थियो । उक्त समयसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ हजार ७८४ रहेको थियो। इजरायलमा गम्भीर अवस्थाका कोभिड–१९ सङ्क्रमित बिरामीहरूको सङ्ख्या २६८ बाट घटेर २६३ मा पुगेको छ । यो सङ्ख्या सन् २०२० को जुलाई २१ पछि सबैभन्दा कम हो। इजरायलमा गम्भीर बिरामीको सङ्ख्यामा जनवरीको मध्यतिर उच्च विन्दुमा पुगेको भएपनि त्यसपछि यो सङ्ख्यामा निरन्तर ओरालो लागेको छ। इजरायलमा कोरोनाभाइरस सङ्क्रमितको कूल सङ्ख्या अहिलेसम्म आठ लाख ३५ हजार ८७१ पुगेकोे छ भने छ हजार २९४ सङ्क्रमितको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  भारतले बनाएकाे कोरोनाको ‍औषधि आज सार्वजनिक हुँदै