अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्ने

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबदेखि सिंहदरबारमा पनि मन्त्रिपरिषदको बैठक बस्ने र पत्रकारले छायांकन गर्न पाउने बताए। प्रधानमन्त्री कार्यालय पुनःनिर्माण भएकाले अब मन्त्रिपरिषदको बैठक सिंहदरबारमा पनि बस्ने मन्त्री पौडेलले जानकारी दिए।

‘भूकम्पले हाम्रो सिंहदरबारको भवन क्षतिग्रस्त भएको थियो, यो यहाँहरु सबैलाई थाहा भएको विषय हो। त्यो भवन पुनर्निर्माणको क्रममा थियो’ मन्त्री पौडेलले भने, ‘सिंहदरबारको एउटा हिस्सा, जहाँ प्रधानमन्त्रीको कार्यकक्ष छ, उपप्रधानमन्त्रीको कार्यकक्ष छ, मन्त्रिपरिषदको बैठक बस्ने कार्यकक्ष छ, यिनीहरूको पुनःनिर्माण सकिएको छ। अब हामी सिंहदरबारमा पनि बैठक बस्छौँ।’

बालुवाटारमा पनि आवश्यकताअनुसार बैठक बस्न सक्ने उनले बताए। लामो समय प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार नआएको र मन्त्रिपरिषदको बैठक बालुवाटारमै हुने गरेको टिप्पणी भइरहेका बेला अर्थमन्त्री पौडेलले अबदेखि बैठक सिंहदरबारमा पनि बस्ने जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठक जारी