लुम्बिनी प्रदेशले गुमायो इमान्दार पत्रकार र मानवाधिकार कर्मी

कपिलवस्त। लुम्बिनी प्रदेशका एक इमान्दार पत्रकार तथा बरिष्ठ मानवाधिकार कर्मी नन्दराम पौडेलको सडक दुर्घटनामा गत (चैत्र ३१ गते) साँझ कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–८ स्थित चप्परगाउँमा पछाडिबाट आउदै गरेको ट्रकले मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार पौडेलको निधन भएको हो।

५० बर्षीय पत्रकार पौडेल आफू प्रधान सम्पादक रहेको पत्रिका बुद्ध आवाज साप्ताहिकको कार्यालय चार नम्बर जीतपुरबाट सम्पादन कार्य सकेर साँझ बुद्धभूमि–४ बुड्ढी गेलवार डावरास्थित निवास फर्कने क्रममा साँझ ७ः३० मा दुर्घटनामा परेका थिए। मोटर साइकललाई ठक्कर दिएपछि ट्रक छोडेर चालक भागेपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका थिए। दुर्घटना भएको केही बेरमा पुगेको प्रहरीले ट्रकलाई गोरुसिङ्गे प्रहरी कार्यालयमा पुर्याएको थियो भने स्थानीयले बन्द गराएको बाटोलाई मृतकका परिवारले प्रहरीलाई अनुरोध गरेपछि आधा घण्टाभित्रै खुलाइएको थियो।

दुर्घटनाबाट निधन भएका पौडेललाई अन्तिम पटक भेट्न सामुदायिक अस्पताल चार नम्बर जीतपुरमा आफन्त,राजनैतिक पार्टीका नेता, पत्रकार, मानवअधिकारकर्मीहरुको ठूलो भीड लागेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई पोस्टमार्टमको लागि राति नै शव जिल्ला अस्पताल तौलिहवा पठाइसकेको छ। आज बिहान १० बजे लक्ष्मणघाटमा अन्त्येष्टि गर्ने मृतकका आफन्तले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  बाघको आक्रमणबाट एक घाइते

२०५२ सालदेखि मानवअधिकारवादी संस्था इन्सेकको जिल्ला प्रतिनिधि भई मानवअधिकार क्षेत्रमा काम थालेका पौडेल कपिलवस्तुमा हुने हरेक मानवाधिकार उल्लंघनका घटनामा पिडितको पक्षमा जस्तोसुकै अवस्थामा पनि उभिने गर्दथे। नि.सं.२०५९ र २०६४ सालमा कपिलवस्तुको पश्चिम र दक्षिण क्षेत्रमा घटेका घटनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नमा पौडेलले नै अग्रणी भूमिका निर्वाह गरेका थिए। माओवादी द्वन्दको बेला नेपाली सेनाले कपिलवस्तुका तीन जना माओवादी कार्यकर्तालाई गोरुसिङ्गे सैनिकगणमा हिरासतमा लिइ दिएको यातनालाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गराई त्यहाँस्थित अदालतमा साक्षीको रुपमा तीन पटक बेलायत पुगेका थिए।

कुमार लामाले बेलायतमा मुद्धा जितेपछि पौडेलको ज्यानलाई खतरा हुन सक्दछ भन्दै जर्मनीको आवासीय भिसा लाग्दा पनि बिदेशभन्दा देश नै प्यारो भन्दै अस्वीकार गरेर जिल्लाको सबैभन्दा अग्रणी मानवाधिकार कर्मीको छवि निर्माण गरेका थिए। कपिलवस्तु जिल्लामा रहेका पत्रकारहरुलाई सङ्गठित गरी वि.सं. २०५९र६० मा जिल्लाको पत्रकार महासंघको संस्थापक सदस्य रहेका पौडेल कपिलवस्तु जिल्लामा प्रेस चौतारी नेपालको संस्थापक सदस्य हुँदै जिल्ला अध्यक्ष समेत भएका थिए। स्वतन्त्र पत्रकार महासंघको केन्द्रीय सचिव समेत भएका पौडेल पछिल्लो समय पत्रकार महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्षमा लडेका थिए।

अन्य सम्बन्धित समाचार:  निषेधाज्ञामा बिहे गरेपछि सवारी साधन सहित दुलहाका बुबा नियन्त्रणमा

लुम्बिनी प्रदेशमा पराजित भरत के।सी।को समूहबाट उम्मेदवार भएका पौडेल उक्त टिममा सबैभन्दा बढी भोट लिएर पराजित भएका थिए। बामपंथी झुकाव भएका पौडेल नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका थिए। पौडेलका एक श्रीमती, एक छोरी र दुई छोराहरु रहेका छन्। पौडेलको निधनमा पूरै गाउँ शोकमग्न बनेको छ।