कारागारमा कैदी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या

कञ्चनपुर। साढे चार दशकअघि स्थापना भएको कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा समस्या सिर्जना भएको छ। स्थापनाकालमा २३ जनाको दरबन्दी कायम भएको कारागारमा ९५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ४१४ कैदीबन्दी हुँदा थप समस्या भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले कारागारमा प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन प्रहरी राख्न आवश्यक रहेको बताए। “पाँच कैदीलाई यताउता लैजानु पर्दा १० प्रहरी खटिनुपर्ने स्थिति छ”, प्रहरी उपरीक्षक चर्तुवेदीले भने, “न त सुरक्षित भ्यान छ न त जनशक्ति थप।”

कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पनि कारागारको अवस्था जीर्ण रहेको र नयाँ व्यवस्थापनमा पहल गर्न केन्द्रमा पत्राचार गरे पनि कुनै सुनुवाइ अहिलेसम्म भएको छैन। प्रहरी उपरीक्षक चर्तुवेदीले कारागारमै प्राथमिक स्वास्थ्य सुरक्षाको व्यवस्थासमेत हुनुपर्ने बताए। “जिल्ला बाहिर कैदीबन्दी सार्नुपरे सुरक्षाकर्मीको अभाव हुने स्थिति छ”, उनले भने, “एक प्रहरी कर्मचारी कारागारमा २४ घण्टा ड्युटी गर्नुपर्ने बाध्यता छ।”

अन्य सम्बन्धित समाचार:  प्रहरीको शव राप्ती खोलामा फेला

त्यसैगरी कञ्चनपुर कारागारका जेलर माया बस्नेत थापाले अहिले कैदीबन्दीलाई टेन्टमा राख्नुपर्ने अवस्था आएको बताए। “यहाँ ठाउँ नभएर चार कैदीबन्दी धनगढी र केही सङ्ख्यामा दाङ पठाउन माथि पत्राचार गरेका छौँ”, जेलर थापाले भने, “कारागार पुनःनिर्माण र व्यवस्थापन सुधारका लागि केन्द्रमा धेरैपटक लिखित र मौखिक पहल हुँदा पनि अझै केही भएको छैन।”