अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

काठमाडौं। अनमोल केसीलाई ७५ लाख अफर गरेको फिल्मले नाम पाएको छ। निर्देशक मुकुन्द भट्टले बिहीबार फिल्मको नाम सार्वजनिक गरेका हुन्। उनका अनुसार फिल्मको नाम ‘एक्स ९ लेभल वन’ रहनेछ। पोस्टरमा निर्देशक भट्टले फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रीलर बताए।

निर्देशक भट्टले फिल्मका लागि पुष्प खड्का र सौगात मल्ललाई मौखिक रुपमा फिल्म खेल्न मनाइसकेको चर्चा छ। अनमोल केसी पनि फिल्मका लागि सकारात्मक छन्। उनले जन्मदिनको दिन दिएको अन्तर्वार्तामा आएका अफरमध्ये यसका लागि सकारात्मक भएको बताएका थिए।

यदि अनमोलले यो फिल्ममा काम गर्ने निर्णय गरे भने सौगात र अनमोल पहिलो चोटि पर्दामा आमनेसामने हुनेछन्। फिल्ममा निर्देशक भट्टले सौगातलाई भिलेन र अनमोललाई हिरोको रुपमा प्रस्तुत गर्ने जनाएका छन्। नेपालसँगै विदेशका केही देशमा सुटिङ हुने फिल्मको बाँकी जानकारी भने सार्वजनिक भएको छैन।