माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा

काठमाडौं। माओवादी केन्द्रले पार्टीबाट निर्वाचित चार प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको औपचारिक पत्र निर्वाचन आयोगलाई पठाएको छ। माओवादी केन्द्रको पत्र गत चैत्र २७ गते शुक्रबार नै निर्वाचन आयोगमा प्राप्त भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

एमालेमा लाग्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले कारबाही गरेको थियो। उनीहरुलाई माओवादीले सांसद्बाट हटाइसकेको छ। सोही व्यहोरा माओवादीले आयोगलाई जानकारी गराएको हो। टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, गौरीशंकर चौधरी कैलाली–३ बाट, लेखराज भट्ट कैलाली–४ बाट र प्रभु शाह रौतहट ३ बाट निर्वाचित हुनुभएको थियो। अब ती ठाउँमा उपनिर्वाचन हुने छ। रिक्त रहेका पदहरुमा कहिले चुनावगर्ने भन्ने विषयमा भने छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटाको उम्मेदवारी दर्ता