अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

काठमाडौं। अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन्।

प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएका छन्। एक प्रत्यक्षदर्शी जेरेमी मिलरले स्थानीय विस–टिभीलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले स्वचालित राइफलबाट गोली चलाएको देखेको बताउनु भएको छ। प्रहरी प्रवक्ता जेनी कूकले पत्रकारहरुसँग कुरा गर्दै प्रहरी तत्कालै घटनास्थलमा पुगेको र कारबाही थालेको बताए। प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरुलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ। फेडेक्सका एक प्रवक्ताले कार्यालयमा गोली चलेको र आफूहरुले प्रहरीलाई मद्दत गरिरहेको जानकारी दिनु भएको छ।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानमा स्कुल लक्षित बम हमला: ४० जना मारिए, २५ घाइते

सामान ढुवानी गर्ने फेडेक्स कम्पनीको इन्डियानापोलिसमा मात्र चार हजारभन्दा बढी मानिसले काम गर्दछन्। गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार व्यक्तिको गोली लागेर ज्यान गएको थियो। मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो।

संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन्। यीमध्ये आधाभन्दा बढी गोली चलाएर आत्महत्या गरेका घटना छन्। संयुक्तराज्य अमेरिकामा बन्दुकको नियमन गर्ने बारेमा राजनीतिक तहमा निकै ठूलो बहस हुने गरेको छ, तर बन्दुक राख्ने बारेमा कडा कानुनको अभावमा यसको गलत प्रयोग बढ्दो छ।

अन्य सम्बन्धित समाचार:  अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु

राष्ट्रपति जो बाइडेनले यसै महिना छ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ। उनको भनाईमा यी व्यवस्थाले अमेरिकामा बन्दुकसँग सम्बन्धित हिंसा कम हुनेछन्।