मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

काठमाडौं। काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ। गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको थियो। चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेका थिए। शुभारम्भका दिन साढे आठ करोड लिटर पानी वितरण भएको थियो। चैत मसान्तसम्म परीक्षणका रुपमा साढे आठ करोड लिटर पानी वितरण गरिएको थियो।

यही वैशाख १ देखि १० करोड लिटर पानी वितरण शुरु गरिएकामा आजदेखि दैनिक १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। अब केही दिनमा १४, १५.५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको छ। क्रमशः बढाउँदै वैशाख ५ गतेसम्ममा मेलम्ची खोलाको १७ करोड लिटर नै पानी सुरुङबाट राजधानी ल्याई वितरण गर्ने आयोजनाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते

हाल सुन्दरीजलका पानी दुवै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ। चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो। सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाङ्काल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पुर्याइ वितरण शुरु भएको छ।

मेलम्ची खोलाबाट पानी राजधानी आएपछि कीर्तिपुर र मध्यपुर थिमि नगरपालिकाको टिगनीस्थित पानीपोखरीमा समेत पानी पुर्याएर परीक्षणका रुपमा वितरण गरिनेछ। सुन्दरीजलबाट थोक वितरण प्रणालीबाट पानी पानीपोखरीमा लगिन्छ। यसका लागि ७७ किमी थोक वितरण प्रणाली तयार भइसकेको छ। पानी वितरणका लागि राजधानीमा नौवटा पानी पोखरी र एक हजार १०० किमी वितरण प्रणाली पनि निर्माण भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चले दियो पक्राउ परेका पत्रकार रिहा गर्न आदेश

मेलम्चीको पानी हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको छ। अनामनगरका ५०० धारामा मात्र नयाँ वितरण प्रणालीबाट पानी पठाउन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए। मेलम्चीको पानी वितरणका लागि उपत्यकामा करीब ८० हजार नयाँ धारा जडान गरिएको छ। सबै धारामा नयाँ मिटर जडान गर्न लागिएको उनले जानकारी दिए।