हुरीबतासले ५० घर उडायो

धादिङ। गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ। प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ। हुरीबतास र पानीसँगै आएपछि घर गोठ उडाएको छ भने तरकारीबालीसमेत हुरीका कारण क्षति पुगेको अनुगमनका क्रममा देखिएको छ।

रातिको समयमा आएको भीषण हुरीबतासका कारण बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा १० घरको जस्ताको छाना, गजुरी गाउँपालिका–२ मा १२ घर टेण्ट, नीलकण्ठ नगरपालिका खाल्टेको दुई घर जस्ता, ज्यामरुङको चार घर जस्ता र गल्छी गाउँपालिका–५मा १३ घरको जस्ता उडाएको नेपाल रेडक्रस सोसाइटी सभापति नारायण तिमल्सिनाले जानकारी दिए।

गल्छी गाउँपालिका–५ का वडाध्यक्ष प्रेम तामाङले सबै सूचना नआइसकेको र आफू गाउँमै सूचना सङ्कलनमा लागिरहेको जानकारी दिए। हुरीबतासका कारण जिल्लामा अन्य क्षतिको विवरण आइनसकेको र विवरण आउने क्रम जारी रहेको रेडक्रसले जनाएको छ। बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले हुरीबतासबाट घर उडाएको चौकी टोलको निरीक्षण गरी पालिकाभरिमा क्षतिको विवरण सङ्कलन गर्नका लागि शुरुआत गरिएको बताए। पालिकाले आवश्यकताका आधारमा राहत वितरण गर्ने जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आफुले चढ्ने गाडीे एम्बुलेन्स बनाउने सिडिओको घोषणा