त्रिकोणात्मक सिरिज: नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि सुरु हुने त्रिकोणात्मक टी—२० सिरिजमा घरेलु टोली नेपाल नेदरल्याण्ड्ससँग भिड्दै छ। नेपाल र नेदरल्याण्ड्ससँग मलेसियाले पनि सिरिजमा प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। कोरोना भाइरको दोस्रो लहरका बाबजुद पनि क्यानले दर्शकसहित खेल गर्न लागेको छ। शुक्रबार भएको ट्रफी सार्वजनिक कार्यक्रममा क्यानका जनरल म्यानेजर रौनक मल्लले सीमित संख्यामा दर्शकलाई प्रवेश दिने बताएका थिए।

१४ महिनापछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालले टीयू मैदानमा टी—२० अन्तर्राष्ट्रिय सिरिज पहिलो पटक खेल्दै छ। साथै बाओ सेकर बबलमा रहेर सिरिज सञ्चालन हुनेछ। यस्तै पारस खड्का बिनै यस पटक नेपालले सिरिज खेल्दैछ। प्रशिक्षणका क्रममा चोट लागेपछि पारस सिरिजबाट बाहिरिएको र उनको स्थानमा सन्दिप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ। यस्तोमा अब नेपालको प्लेइङ सेट कस्तो बन्छ हेर्न बाँकी छ।

अन्य सम्बन्धित समाचार:  बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट

१५ सदस्यीय नेपाली टिममा टी—२० आई खेल्न बाँकी चार खेलाडी छन्। जसमा शाहब आलम र आसिफ शेख पहिलो पटक टिममा परेका हन्। यसअघि लिस्ट खेलिसकेका कुशल भुर्तेल र ओडिआई खेलिसकेका कमल सिंह ऐरीले टी(२० अन्तर्राष्ट्रिय खेल्न बाँकी छ। नेपालले पछिल्लो पटक सन् २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेदरल्याण्ड्ससंग खेलेको थियो। जसमा नेपाल ४ विकेटले विजयी भएको थियो।