मुख्यमन्त्री शाहीले आइतबार मन्त्रिमण्डल विस्तार गर्दै

कर्णाली। प्रदेश सभामा शुक्रबार विश्वासको मत पाएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्। मुख्यमन्त्री शाहीको पक्षमा मत दिने एमालेका ४ र नेपाली काङ्ग्रेसलाई समेत सहभागी गराएर आइतबार नै मन्त्रिमण्डल बिस्तार गर्न लागिएको हो।

नेकपा एमालेबाट कर्णाली सरकारमा रहेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले चैत २४ गते राजीनामा दिएर बाहिरिएका थिए। एमालेका तीन मन्त्री बाहिरिएपछि प्रदेश सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्री सहित ३ मन्त्री बहाल छन्।

चैत ४ गते सो प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सोही कारण शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए। उनलाई एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका थिए। नेपाली काङ्ग्रेसले शाहीको पक्षमा मतदान गरेको थियो। काङ्ग्रेसको सो प्रदेशमा ६ जना सांसद छन्।

अन्य सम्बन्धित समाचार:  एमालेको सबै भोट मलाई आउँछ, मेरो जित पक्का छः गृहमन्त्री बादल