कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँः सभामुख सापकोटा

काठमाडौं। सभामुख अग्नि सापकोटाले आफू कसैको दबाब र प्रभावमा परेर काम नगर्ने बताएका छन्। नेपाल पत्रकार महासंघका नयाँ नेतृत्वको पदभार ग्रहण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले आफूले अहिलेसम्म पनि आफ्नो विवेक प्रयोग गरेर काम गरेको र अब पनि कसैको प्रभाव र दबाबमा नपर्ने बताएका हुन्।

सापकोटोले सभामुखको हैसियतमा आफ्ना केही निहित अधिकारहरु रहेको र ती पनि आवश्यकताअनुसार प्रयोग गर्ने बताउँदै कुनै पनि कार्यका लागि कसैको दबाबमा नपर्ने जानकारी दिए। उनले भने, ‘मलाई कसले के भन्छ त्यसको मतलब छैन, म आफ्नो बाटो हिँड्ने हो, म लुरुलुरु आफ्नै काम गर्छु, आफ्नै विवेकले काम गर्छु। मलाई कुनै डर, त्रास र मोह छैन।’

अन्य सम्बन्धित समाचार:  अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन

उनले भने, ‘मेले देशलाई सर्वोपरी ठानेर काम गर्छु, अन्जानमा कुनै गल्ती भए पनि होलान्, तर जानीजानी कुनै गल्ती गरेको छैन र गर्ने छैन।’ सापकोटाले आफ्नो विवेक प्रयोग गर्ने कुरामा जोखिम भए पनि त्यो उठाउन कुनै समस्या नरहेको बताए। ‘संसदलाई चलायमान बनाउन संविधानअनुसार अगाडि बढ्न सुरु भएपछि संसदमाथि घेराबन्दी हुन थाल्यो। अहिले पनि भइरहेको छ। केही व्यक्तिले धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ तर, सधै सकिँदैन’, उनले भने। सभामुख सापकोटाले पछिल्लो समय लोकतन्त्रमाथि विभिन्न ठाउँबाट आक्रमण भइरहेको भन्दै पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेर लोकतन्त्रको बचाउ गर्ने विश्वास व्यक्त गरे।