बालबालिकालाई घरबाहिर नलैजान चिकित्सकको आग्रह

काठमाडौं। बाल स्वास्थ्य चिकित्सकहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले कोरोना संक्रमणबाट बालबालिकालाई जोगाउन पाँच बुँदे अपिल जारी गरेको छ। आइतबार विज्ञप्ति निकालेर सोसाइटीले अति आवश्यक कामबाहेक आफू र आफ्ना बालबालिकालाई घरबाहिर नलैजान आग्रह गरेको छ। केही गरी जानुपरेमा मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ।

कोरोना महामारी द्रुत गतिमा फैलिएकाले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भएमा मात्र बालबालिकालाई विद्यालय पठाउन पनि सोसाइटीले अपिल गरेको छ। त्यस्तै सार्वजनिक वा अन्य साधनबाट यात्रा गर्दा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र बालबालिकामा कुनै समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा गई सल्लाह लिन पनि बालबालिकासम्बन्धी चिकित्सकले आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो— कोरोना बिरामीका आफन्तसँग अक्सिजन नमाग्नू

सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टले विज्ञप्ति जारी गरी ठूला व्यक्तिहरुको तुलनामा बालबालिकामा कम परीक्षण भएकाले बालबालिकामा संक्रमण हाल देखिएको भन्दा बढी हुन सक्ने बताएका छन्।