त्रिकोणात्मक सिरिजः नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य

काठमाडौं। ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको हो। टी—२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो ठूलो स्कोर हो। यसअघि १३ औं सागमा नेपालले भुटान विरुद्ध २३६ रन बनाएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धतशक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाए। उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरेका थिए। उनले ४१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए। कुशलले समग्रमा ४६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६२ रन जोडे।

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन्। यसअघि उनले नेदरल्याण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए। टी—२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडीसमेत बनेका छन्। यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन्।

अन्य सम्बन्धित समाचार:  च्याम्पियन्स लिग: उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने

यस्तै दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए। उनले १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। उनले २८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे। अर्को बलमा पनि छक्का प्रहार गरेका दीपेन्द्र त्यसपछि आउट भए । उनले ३० बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा ६० रन बनाए।

यसअघि दुई खेलमा लगातार शतकीय साझेदारी गरेको नेपालले आज भने दोस्रो ओभरमै विकेट गुमायो। कुशल भुर्तेलसँग अघिल्ला दुई खेलमा जोडी जमाएका आसिफ शेख शून्यमा आउट भए। पहिलो विकेटका लागि २० रनको साझेदारी मात्र भयो। दोस्रो विकेटका लागि कुशल र कप्तान ज्ञानेन्द्र मल्ले ४३ रनको साझेदारी गरे। तर कप्तान ज्ञानेन्द्र २० रन बनाएर आउट हुँदा नेपालले ६३ रनमा दोस्रो विकेट गुमाएको थियो। त्यसपछि कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रनको साझेदारी गरे।

अन्य सम्बन्धित समाचार:  युरोपा लिग फुटबल: म्यानचेस्टर युनाइटेड र भिल्लारियल फाइनलमा

त्यसपछि कुशल मल्ल ७ बलमा १८ रन जोडेर आउट भए। करण केसीले १ रन मात्र जोडे । सोमपाल कामीले १३ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २१ रन बनाए । विनोद भण्डारी ७ रनमा अविजित रहे। बलिङमा नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र कप्तान पिटर सिलारले २(२ विकेट लिए । यस्तै बास डे लिड र आर्यन दत्तले समान १ विकेट लिए।