त्रिकोणात्मक सिरिजः नेदरल्याण्डद्वारा नेपाल पराजित

काठमाडौं। त्रिकोणात्मक सिरिजमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो। सन्दीप लामिछानेले गरेको १८ औँ ओभर नेदरल्याण्डका लागि टर्निङ प्वाइन्ट बन्यो। सन्दीपको एकै ओभरमा पिटर सिलरले तीन छक्का हिर्काएका थिए। नेदरल्याण्डका लागि बास डी लिड नायक बने उनले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै ८१ रन बनाए। बेन कुपरले ५५ तथा सिलरले ३१ रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ४६ बलमा ८ चौका र १ छक्का हिर्काए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिए। उनले यसक्रममा ३ चौका र ५ छक्का हिर्काए। सोमपाल कामी र कप्तान ज्ञानेन्द्र मल्लले क्रमशः २१ र २० रन बनाए।नेदरल्याण्डका लागि भिभियन किङ्मा र पिटर सिलारले २–२ विकेट लिए।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगमा लेस्टर पराजित