कोभिड अस्पतालका डाक्टर र नर्स काम छाडेर आन्दोलनमा

विराटनगर। सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरू भएसँगै कोरोना सङ्क्रमितको उपचारमा खटिरहेका डाक्टर र नर्सले न्यूनतम सुविधा नपाएको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका हुन्।

१८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन्। उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र पाँचजना डाक्टर कार्यरत छन्। सामाजिक विकास मन्त्रालयले पठाएकी एकजना नर्स बाहेक अन्यले काम छाडेर आन्दोलनमा उत्रिएका हुन्। काममा फर्कनका लागि उनीहरुले सरकारले तोकेको न्यूनतम सुविधा पाउनुपर्ने माग राखेका छन्।

सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त पाएका डाक्टर नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको छ। कोरोना सङ्क्रमण घटेपछि एक महिना विदा बसेका उनीहरुले पून नियुक्ति पाएपछि काममा फर्किएका थिए। तर न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताए।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर वितरण हुने