निषेधाज्ञा जारी हुने भएपछि गाउँ फर्कने बढे

काठमाडौं। कोरोनाभाईरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउनेभएपछि गाउँ फर्किनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्दै वैशाख मसान्तसम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

यससँगै उपत्यकाबाहिर घर भइ काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसेका सर्वसाधारण आफ्नो थातथलोतिर लागेका हुन्। मंगलबार बिहानै आफ्नो घर जानका लागि कलंकी, कोटेश्वर, बल्खु, नयाँ बसपार्कलगायतका स्थानमा सर्वसाधारणहरूको भिडभाड रहेको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यका बाहिर जान चाहनेका लागि दुई दिनको समय दिएर प्रशासनले निषेधाज्ञाको निर्णय गरेको बताएका थिए। त्यसकारण पनि काठमाडौं छाड्नेहरुको संख्या बढेको हो।

अन्य सम्बन्धित समाचार:  बेलझुण्डि कोरोना अस्पतालमा अक्सिजन सकियो, नयाँ विरामी भर्ना नगर्ने