दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने

भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ। दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ।

अक्सिजनका ट्याङ्कर आजदेखि दिल्ली पुग्न थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताए।

मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एअरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गरे। केन्द्र सरकारले एअरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उनको भनाइ छ।

दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै उहाँले ल्याइएको २१ वटा अक्सिजन प्लान्टलाई दिल्लीको विभिन्न अस्पतालमा लगाइने बताए।

दिल्लीमा मात्रै पछिल्लो २४ घण्टा २४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन्। यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् भने एकैदिन ३ हजार २ सय ८५ जनाको ज्यान गएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा