महाकाली अस्पतालमा अक्सिजन अभाव

कञ्चनपुर।  कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ। चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन्।

अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिनको अभाव हुन थालेको बताए। उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यताअनुसार अक्सिजन दिन नसकेको बताए। “आवश्यकताअनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएका छौँ”, डा. रोकायाले भने, “सङ्क्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको छ।” पचास श्ययाको कोरोना अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ।

त्यसैगरी सोमबार राति भीमदत्त नगरपालिका–११ का एक कोरोना सङ्क्रमितको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितमध्ये चार दिनमा चारको मृत्यु भइसकेको छ। त्यसैगरी कञ्चनपुरको स्थानीय प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि बुधबारदेखि आंशिक लकडाउन गर्ने जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटनाः ४ जना घाईते

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन दिउँसो ३ बजेदेखि बिहान ८ बजेसम्म बजार, कलकारखाना, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। बैठकले जोरबिजोर प्रणालीबाट यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले प्रदेश सरकारले यहाँ सघन कक्ष सुविधा बढाउने गृहकार्य गरिरहेको बताए। प्रक्रियागत अल्झनका कारण महामारीका बेला स्रोतसाधन खरिद गर्न समय लाग्ने गरेको बताए। “महाकाली अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी हँुदैछ”, जोशीले भने, “सेती प्रादेशिक अस्पतालमा त प्लान्ट पहिलेदेखि नै सञ्चालनमा थियो।”