खोप लगाएकाहरुलाई खुला स्थानमा मास्क अनिवार्य छैन: सिडिसी

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना भाइरस विरुद्धको खोपको पूरा मात्रा लगाएकाहरुले खुला स्थानमा मास्क लगाउनु नपर्ने बताएको छ।

सिडिसीले जारी गरेको नयाँ निर्देशिकामा खोपको पूर्ण मात्रा लगाएका व्यक्ति एक्लै वा खोप लगाएका अरु व्यक्तिहरुको सानो समूहमा रहँदा मास्क नलगाए पनि हुने उल्लेख छ।

तर बन्द कोठा, भिडभाडहरुमा भने सबैले मास्क लगाउनु पर्ने सिडिसीको निर्देशिकामा उल्लेख छ। अहिलेसम्म ९ करोड ५० लाख मानिसले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्।

सिडिसीले मंगलबार जारी गरेको नयाँ निर्देशिकालाई राष्ट्रपति जो बाइडेनले असाधारण प्रगति भनेका छन् ।

बाइडेनले भनेका छन्, ‘हाम्रा वैज्ञानिकहरु खोप लगाएका व्यक्तिहरुमा संक्रमण हुने वा संक्रमण सार्ने सम्भावना निकै कम हुने कुरामा विश्वस्त भएका छन् । यदी तपाईँले खोपको पूर्ण मात्रा लगाउनु भएको छ भने धेरै कुरा गर्न पाउनु हुनेछ, यो कुरा स्पष्ट छ ।’

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि