भारतमा बढ्दो सङ्क्रमणबीच मृतकको सङ्ख्या दुई लाख नाघ्यो

भारतमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढिरहँदा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या मङ्गलवार दुई लाख नाघेको छ।

अधिकारीअरूका अनुसार मङ्गलवार मात्रै ३,२८६ जना व्यक्तिको ज्यान गएको छ। यो महामारी शुरू भएयताकै एक दिनमा मृत्यु भएको सबैभन्दा उच्च सङ्ख्या भएको अधिकारीहरूले बताएका छन्।

स्वतन्त्र विश्लेषकहरूका अनुसार भारतमा कोभिड-१९ का कारण ज्यान गुमाउने मानिसहरूको सङ्ख्या सरकारले बताउने गरेको भन्दा दोब्बर हुनसक्छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अन्तिम संस्कार गरिएका आँकडा हेर्दा ज्यान गुमाउनेहरूको सङ्ख्या दोबर हुनसक्ने देखिन्छ। भारतमा अस्पतालमा भएका मृत्युहरूलाई मात्र गणना गरिएको छ।

सङ्क्रमणमा देखिएको पछिल्लो वृद्धिले भारतको स्वास्थ्य प्रणालीलाई घुँडा टेकाइदिएको छ। गत एक साताभित्र मात्र २० लाख कोरोनाभाइरस सङ्क्रमित थपिएको तथ्याङ्क छ।

अन्य सम्बन्धित समाचार:  पूर्वमन्त्री पहाडीको कोरोनाबाट मृत्यु

मृतकको हिसाबले संयुक्त राज्य अमेरिका, ब्रजिल र मेक्सिकोपछि भारत चौथो स्थानमा रहेको छ। यद्यपि ती मुलुकहरूमा भारतमा जस्तो अहिले देखिएको सङ्कट चाहिँ नरहेको बताइएको छ।

थुप्रै देश तथा विश्व स्वास्थ्य सङ्गठनले भारतमा खासगरी अक्सिजनको सहायता पठाउँदैछन्।