संसदीय समितिटोलीद्वारा वीर र पाटन अस्पताल निरीक्षण

काठमाडौं। संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले आज वीर अस्पताल र पाटन अस्पतालमा कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो। टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत जनशक्ति, सेवा प्रवाह र उपचारमा देखिएको चुनौतीबारे अस्पताल प्रमुखसँग जानकारी लिएको थियो।

संसदीय टोलीलाई वीर अस्पतालका कार्यकारी निर्देशक डा शान्ता सापकोटा र पाटन अस्पतालका कार्यकारी निर्देशक डा रवी शाक्यले अस्पतालको भौतिकपूर्वाधार, जनशक्ति र उपलब्ध सेवाबारे जानकारी गराउनुभएको थियो। अस्पताल व्यवस्थापनले कोभिड–१९ का लागि छुट्याइएका शय्या, व्यवस्थपन गरिएको अक्सिजन, पीपीई र उपलब्ध सेवा सुविधाबारे जानकारी गराएको थियो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा निर्वाचन: ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

वीर अस्पतालले कोभिड–१९ का बिरामीलाई १०७ र पाटन अस्पतालले २५० श्यया व्यवस्थापन गरेको जानकारी दिइएको समितिका सचिव बविता मिश्रले बताइन। दुवै अस्पताल व्यवस्थापनले कोरोनाका बिरामीको उपचारका लागि चिकित्सकसहित नर्सको बढी आवश्यकता परेको जानकारी गरायो।

वीर अस्पतालको अक्सिजन प्लान्ट लामो समयदेखि बन्द रहेकामा केही दिनदेखि सञ्चालनमा ल्याइए पनि पाटन अस्पतालको प्लान्ट भने अझै सञ्चालन हुन नसकेको जानकारी दिइयो। वीर अस्पतालको प्लान्टबाट दैनिक १५० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने बताइएको छ। पाटन अस्पतालले अन्य अस्पतालको तुलनामा सङ्क्रमणको जोखिममा रहेका सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ।

संसदीय टोलीले कोभिडका बिरामीको उपचारका लागि कुनै कसर बाँकी नराख्न सुझाव दिँदै अस्पताललाई परेको समस्या समाधानका लागि संसद्ले पहल गर्ने भएकाले लिखितरुपमा सुझाव उपलब्ध गराउन निर्देशन दिएको थियो। टोलीमा सदस्य देवेन्द्रराज कँडेल, लालबाबु पण्डित, प्रेम सुवाल, महेश्वरराज गहतराज र तीर्था गौतम सहभागी हुुनुहुन्थ्यो।

अन्य सम्बन्धित समाचार:  हुम्लाका दुई गाउँपालिका ‘सिल’

समितिले आफ्नो सुशासनको कार्यक्षेत्रको पाटोबाट अस्पतालबाट हालको परिस्थितिमा उपलब्ध सेवा र भोगिरहेका समस्याबारे जानकारी लिने उद्देश्यले अनुगमन कार्य प्रारम्भ गरेको हो। समितिले केही दिनभित्रै अन्य अस्पतालको समेत निरीक्षण गर्ने छ।