काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाडौं। कोरोनाभाइरसका संक्रमणको दोश्रो भेरियन्ट फैलिदै गएपछि आजबाट काठमाडौं उपत्यका सहित डेढ दर्जन जिल्लामा निषेधाज्ञा जारी भएको छ। पूर्ववर्ती निर्णय अनुसार काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार बिहीबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको हो।

निषेधाज्ञासँगै सडकका चोकचोकमा सुरक्षाकर्मी परिचालन भएका छन् भने सडक सुनसान भएका छन्। यहाँका प्रमुख जिल्ला अधिकारीहरुले २२ वैशाखसम्म निषेधाज्ञा लागू गरेकामा मन्त्रिपरिषदले यसलाई लम्ब्याएर वैशाख मसान्तसम्म कायम गरेको छ।

कोरोना भाइरस महामारीको चेन ब्रेक गर्न भन्दै हालसम्म डेढ दर्जन जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ। पछिल्लो पटक सबैभन्दा बढी प्रभावित बाँके करिक एक सातादेखि लकडाउनमा छ।

अन्य सम्बन्धित समाचार:  भोलिसम्म मौसम नखुल्ने, देशभर वर्षा

निषेधाज्ञा जारी भएका जिल्लामा पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यकबाहेक सबै सेवा र व्यापारव्यवसाय, सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना, अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा सञ्चालनमा रोक लगाइएको छ।

तर, खाद्यान्न, फोहोरमैला, स्वास्थ्य, सञ्चार सहितका अत्यावश्यक सेवाका सवारी, औषधि पसल सञ्चालन हुनेछन् भने खाद्य सामग्री पसलहरू र
डिपार्टमेन्ट स्टोरका ग्रोसरी पसलहरू बिहान र साँझ मात्र खुल्नेछन्।

सरकारका कर्मचारीहरू एवं वित्तीय तथा अत्यावश्यक सेवाका कर्मचारी, सञ्चारकर्मीहरूको आवतजावत निर्वाध हुनेछ।

त्यस्तै अस्पताल जानुपर्ने बिरामी, कुरुवा एवं मृत्यु संस्कारमा अनिवार्य जानुपर्ने एवम् अन्तर्राष्ट्रिय उडानका भिसा र टिकट हुनेहरूले अनुमति लिएर यात्रा गर्न पाउने छन्।
उपत्यका प्रवेश गर्ने व्यक्तिहरू अनिवार्य रूपमा तोकिएका क्वारन्टीनरहोम आइसोलेशनमा बस्नुपर्ने आदेश गरिएको छ।